


के दिऊ म शुभकामना
यो नवयुगका युगबाहक भएर पनि
आफ्नै आँगन सिगार्ने अवसर नपाएर
मुग्लानी मुग्लेआदमका ताता बस्तीमा
बेचिएका युवा पाखुरीहरुलाई।
जो बिवश छन स्वयममा
मनभरी सुखद भविष्य
र
समृद्ध नेपालको सपना साँचेर
मरुभुमीको तातो बालुवा चाल्न।
थाहा छैन
सपनाको बियाँ अंकुराउला
या
चारो भैदेला बनचरीको
भएको फुसको छानो बन्दगी राखेर
प्रदेशिएको हर्क बहादुरको सपना
बन्दबाकसको बाटो भएर फर्किए झै।

थाहा छैन
बिर्खेका बाको चुहिने छानो टालियला,नटालियला?
सुन्तलीले नयाँ गुन्यु पाउली,नपाउली?
भुन्टेको किताबको गाता फेरिएला नफेरियला?
शान्तीले दशैमा एकथान चंगा पाउली नपाउली?
प्रेमेको आमाले
छोराको हातको एक गिलास पानी पाउलीन,नपाउलिन?
मर्नु र बाँच्नुको दोसाँधमा छ
भर्खरै दुबै हात काटिएर साउदीबाट फर्काइएको ऊ।
यस्तो जर्जरता
यस्तो यो आहाट
यो बार्बरिक अन्धकार बिच
को कस्लाई के भनेर दिउँ म
नयाँ बर्षको नबिन शुभकामना
दिन लायक केही छ जस्तो लाग्दैन मलाई
हत्या,हिँसा,बलात्कार
अस्थिरता,अनिमियतता
भ्रस्टाचार ,दुराचारको फेरिहस्त बाहेक
भो! यस्तो छाउगोठ के सम्झिरहनु रहनु र
गणतान्त्रिक युगको
लैंगिक समानताको पटाङ्गिनीबाट
बरु हतियार बनाई दिन्छु
चंचल ओठको मौनतालाई।
बाँडन त
बाँडिरहेकै छन
केही एनजिओ,आइएनजिओ
केही केही
सस्ता अर्थ परिचारकले
महङ्गा क्यालेन्डरहरु
कमसेकम नयाँ तस्बिर पाएको छ
पुरानो भित्ताले
यसै गरी फेरिए त हुने
रोग,भोक,शोकको बदला
शुख,शान्ती,समृद्धि।
अनी आनन्दले दिन हुन्थ्यो
साँच्चैको नयाँ बर्षको शुभकामना।
नयाँ बर्षको शुभकामना।।
अम्बिका जोशि
