


बैतडी – प्रकाश भट्ट -दार्चुलाको ब्याँस गाउँपालिकामा झण्डै एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध छ । जसकारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
ब्याँस गाउँपालिकाको वडा नं २ रिपुधार -राप्लामा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा ब्याँस गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवाले काम गर्न छोडेको हो। कहिलेकाहीँ दिउँसोको सयम एक-दुई घण्टा मात्रै काम गर्ने गरे पनि अन्य समय काम गर्न छोडेकाले सेवाग्राहीले समस्या भोग्नु परेको र पालिकामा कामकाज ठप्प भएको गाउँपालिका अध्यक्ष मंगलसिंह धामिले बताए।

टावरमा खराबी आएर इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ ।
इन्टरनेट नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ब्याँस गाउँपालिकामा रहेको माछापुच्छ्रे बैंकले जनाएको छ । सेवाग्राहीले बैंकमा इन्टरनेट नहुँदा रित्तो हात लिएर फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको छ ।
उक्त टावरमा सोलार सिस्टम प्रयोग गरिएको हुनाले मौसम खराबिका कारण ब्याट्री चार्ज नहुने र बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारणलाइन नजोडिदा सम्म यस्तो समस्या पटकपटक आइरहने नेपाल टेलिकम दार्चुलाका प्रमुख के बि गुरुङले बताए।




