


नेपाली राजनितीमा एक माटो सुहाउँदो त्याग ,देश सुहाउँदो राजनैतिक सिद्धान्तका प्रतिपादक र ब्याख्याता ,समयले मागेको क्रान्ति अर्थात विपी कोइरालाको जन्म वि.सं. १९७१ सालमा भारतको बनारसमा पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या कोइराला जस्ता समाज सुधारकको घरमा भएको हो । तत्कालीन ग्रहनक्षत्रहरूको गतिअनुसार विश्वेश्वरप्रसाद कोइरालाको जन्म २७ नक्षत्रहरूमध्येको पहिलो नक्षत्र अश्विनी (चू, चे, चो, ला)को पहिलो पाउमा भएको थियो । यसअनुसार उनको नाम ‘चू’ अक्षरबाट शुरू हुने ‘चूडामणि’ राखिएको थियो । बनारसमा भगवान् शिवको प्रसिद्ध विश्वनाथको मन्दिर रहेको छ । यसरी बनारसमा जन्मिएका बालक विश्वनाथ तथा विश्वेश्वरका प्रसाद हुन् भन्ने ठानेर उनको नाम विश्वेश्वरप्रसाद राखिएको हो भन्ने भनाइ रहेको छ र यही नामले नै विश्वेश्वरप्रसाद कोइराला विश्वमै प्रसिद्ध भए ।भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख केन्द्र बनारस, पटना, कोलकातामा उनको लालनपालन र शिक्षा भएको थियो ।
तत्कालीन समयका प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्तित्वहरू टर्कीका कमाल पाशा, चीनका डा. सन् यात सेनको उदय र अन्तर्राष्ट्रिय घटनाहरू सोभियत रुसको कम्युनिस्ट आन्दोलन, जापानको शक्ति राष्ट्रका रूपमा स्थापनाले उनको जीवनमा गहिरो प्रभाव परेको थियो । दोस्रो विश्व युद्ध, जर्मनमा हिटलरको उदय एवं पतन पनि सोही कालखण्डमा भएको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अस्थिर एवं दुई ध्रुवबीचको शीत युद्धको समयमा उनी राजनीतिक रूपमा सक्रिय भएका थिए । उनको स्वर्गारोहण ०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा क्यान्सर रोगबाट भएको थियो । तत्कालीन एकतन्त्रीय राणा शासनका कारण उनको परिवारले भारतको बनारस प्रवासमा चरम कष्ट पाएको थियो । बेलायती साम्राज्य भारतमा रहेसम्म नेपालबाट राणा शाही उन्मुलन गर्न सकिँदैन भन्ने मान्यताका कारण भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न भएका थिए ।
भारतीय स्वतन्त्रता आन्दोलनको दौरानमा सन् १९४२ को भारत छोडो आन्दोलनमा पक्राउ परी हजारीबाग जेलमा बस्दा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, राममनोहर लोहियालगायत भारतका नेताहरूको सामिप्यता प्राप्त गर्ने मौका प्राप्त गरेका थिए ।
विपी बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील र अति महत्वाकांक्षी थिए । विपी कोइराला बिसौँ शताब्दीको पश्चिमी स्वतन्त्रता, मानवीय स्वतन्त्रता, प्रतिष्ठा तथा मानवाधिकारबाट प्रभावित हुनाका साथै महात्मा गान्धीको अहिंसावादी सिद्धान्तबाट पनि अभिप्रेरित भएको देखिन्छ ।
- वीपीको अध्ययन
वीपीको अध्यनको थालनी बनारसबाट भएको थियो । टेढीमा आए पछि टेढी (हाजिको वाग)मा जग्गा किनेर कृष्णप्रसादले स्कूल र छात्रास बनाए । विश्वेश्वरको अध्यन यहींबाट राम्रोसँग थालनी भयो । वी.पी. टेढीबाट बनारस जान चाहान्थे ।
उनलाई बाटोखर्च दिन नसक्ने अवस्थाले गर्दा यो समस्या हल गर्नको लागि सानीआमा सँग भएको मुन्द्री र बहिनी नलिनीले पनि मुद्रि दिए पछि वीपीले चिउरा र गुणलाइ पोको पारेर बाटोमा खानको लागि लिएर वनारसतिर लागे । यो सुन बेचेर प्राप्त रकमले स्कुलमा भर्ना भए । वीपीले मेट्रिक पास दोस्रो श्रेणिमा गरे ।
मेट्रिक पास गरेपछि कलकत्ताबाट अध्ययन गरोस् भन्ने कृष्णप्रसादको चाहाना थियो तर वीपी कलकत्ताभन्दा वनारस नै राम्रो मान्दथे र उनले वनारसै पढ्न थाले । १२ पास पनि वीपीले वनारसबाटै गरे । सन् १९३४मा वीपी राजनीति शास्त्रमा स्नातक भए । यिनले कानूनमा स्नातकोपाधि पनि पाएका थिए ।
- वीपीको विवाह
वीपीको विवाह पनि साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग विवाह गरेका थिए । विवाह गर्दा पनि वीपीको आर्थिक अवस्था निकै कमजोर थियो । उनका साथी देवेन्द्रसँग चार-पाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरेका थिए । वीपीको विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्व जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे ।
- वीपीको राजनीतिक जीवन
“कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो “-वीपी कोईराला
वीपीको राजनीतिको थालनी पनि रहस्यमय छ । उनी सर्बप्रथम आतङ्कवादमा देखिए । उनलाई वेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चारमहिना (१९३०) थुनामा बस्नु प-यो । मोतीहारीको डकैतीको केशमा पनि नाम मुच्छिएको थियो तर त्यसमा यिनको सहभागिता थिएन र सफाइ पाए ।
यिनको राजनीति प्रभाव सर्बप्रथम माक्र्सवादमा परेको थियो । उनी बम्बै पनि गएका थिए र उनले माक्र्सवादका कृतिहरूको अध्ययन पनि गरेका थिए । कृष्णप्रसाद कांग्रेसी संस्थामा आवद्ध थिए । राजनीतिमा पनि कृष्णप्रसादको छाप वीपीमा परेको थियो ।
पटनामा बस्दा यिनले नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरूको सम्पर्क भयो । पछि यिनीहरूसँको सम्पर्कले गर्दा वी.पी. पार्टीमा पनि आवद्ध भएका थिए । भारतमा जब अंग्रेजलाई भारत छोड भन्ने आन्दोलन भयो । त्यस समयमा वीपी धेरै पटक जेल पनि गए ।
अंग्रेजले भारत छाड्नै पर्यो । भारत स्वतन्त्र भयो । भारतीय आन्दोलनको प्रभाव क्षिमेकी देशमा पनि परेको थियो । नेपालमा पनि राणाले गरेको अत्यचारबाट नेपाली जनता मुक्त हुन चाहान्थे । जन चाहनालाई बुझ्दा साहित्यकार तथा लेखकको यस्ता बेलामा चुपलागेर बस्ने अवस्था थिएन ।उनको शब्दमा राष्ट्रियता माटो हैन जनताको सामुहिक बिचार र भावनाको अर्को रुपमा नै राष्ट्रियता हो ,यो माटो हैन माटोको सामुहिक आवाज हो ।
धरणी धरले ‘नैवेद्य’ लेखे, कृष्णलाल अधिकारीको ‘मकै खेती’,जस्ता कृतिको जन्म पनि भयो । कृष्णलाल अधिकारीले ‘मकै खेती’लेखेकोमा सरकारले जेल चलान गर्यो र उनको जेलमै मृत्यु भयो । यी मात्र नभएर यी भन्दा पनि पहिला राणा धपाऊ भन्ने अभियान नभएको हैन तर यिनलाई राणाहरूले निर्मम तरिकाले दवाएका थिए । १९९३ साल जेठ २२ गते नेपाली जनताले मुक्तिको लागि प्रजापरिषद नामक संस्था खोले ।
यस माथि पनि राणाहरूको कडा निगरानी थियो । यो मर्म वीपीलाई थाहा थियो । उनले संगठनको महसूस गरेर पटनाबाट निस्कने पत्रिका ‘सर्चलाइट’ नेपालमा प्रजातन्त्र ल्याउनको लागि इच्छुक व्याक्ति मेरो सम्पर्कमा आउनु भनि समचार छपाउने काम गरे । यो समचारले इच्छुक नेपालीहरू वीपीको नजिक आउन थाले । वनारसमा तदर्थ समिति खोल्ने तय भयो । सुब्बा देवीप्रसादको अध्यक्षतामा उपाध्यक्ष बालचन्द्र शर्मा र वीपी संयोजक रहने गरी तदर्थ समिति गठन गरियो ।
भारतमानेपालमा प्रजातन्त्र ल्याउनको लागि एउटा संस्थाको, जन्म भयो । यो तदर्थ समितिले भारतका कुना काप्चामा रहेका नेपालीहरूलाई यो संंदेश दिदै भेटने काम पनि भयो । यसै समयमा गणेशमानजीको र वी.पी.को भेटवार्ताहरू पनि भए । यो तदर्थ समितिले कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गरेर सञ्चालक समितिको चयन गर्ने काम भयो । १३ सदस्य रहेको समितिको सभापति ट्रकप्रसाद आचार्यले सम्हालेका थिए ।
राष्ट्रिय कांग्रेस भनेर पार्टीको नामाकरण गरियो । नेपालमा मज्दुर आन्दोलन पनि भयो । यस आन्दोलनमा पनि वी.पी. गिरफ्तार हुनु भयो । एकातिर देशको आन्दोलनलाई अगाडी बढाउनु थियो भने अर्कोतिर पार्टीमा पनि तनाव थियो ।
पार्टी पनि विभाजित भयो । वीपीले एक पार्टीको नेतृत्व लिनु भयो भने अर्को पार्टीको नेतृत्व डिल्लीरमण रेग्मीले । देशमा प्रधानमन्त्री बन्ने होडमा रहेका राणाहरूमा पनि पदृम शम्शेरले मन्त्रीपद त्यागे र मोहन शम्शेर प्रधान मन्त्री भए । एक त राणाहरू ए, वी, सी, बर्गमा विभाजित थिए । सुवर्ण शम्शेरलाई जुद्धशम्शेरले निकालेका थिए । सुवर्ण शम्शेरले नेपाल प्रजातन्त्र कांग्रेसको संस्थापकको रूपमा नेतृत्व लिए ।
मोहन शम्शेरले पार्टीहरूलाई प्रतिबन्ध लगाए । वीपी पार्टी सुधिरीकरणको लागि भूमिगत रूपमा नेपाल आएका थिए तर पक्रिए र जेलमा राखिए । यहाँ पनि वीपीले अनसनमा बस्नु पर्यो । रिहाइ भए पछि ,देशमा प्रजातन्त्र बहाली गर्न संघर्ष विना सम्भव नहुने देखेर वीपीले संघर्षको लागि आवाहन गरे । वि.सं. २००७ सालमा दिल्लीमा सम्झौता भयो र प्रजातान्त्रिक सरकारको गठन भइ मोहन शम्शेरको प्रधान मन्त्रीत्वमा वीपी गृह मन्त्री बन्नु भयो ।यो मन्त्रीमण्डल त्यति टिकाउ हुन सकेन । २००८ सालमा मातृकाप्रसाद प्रधान मन्त्री भए । मातृका र वीपीमा मनोमालिन्यता बढ्न थाल्यो । मातृका दरवारतिर ढल्किए र अलग्गै पार्टी खोले नेकाकौ छैटौं महाधिवेशनमा वी.पी.ले चाहेको समाजवादी अर्थनीति लागु भयो । वि.सं. २०११ चैत्र १ गते राजा त्रिभूवनको स्वर्गारोहण भयो । महेन्द्र राजा बने पछि संविधान सभा नगराउने छाँट देखियो । वीपीले संविधान सभाको चुनाउ चाँहाँदा चाँहादै पनि राजाले प्रधान मन्त्री परिवर्तन गर्दै संसदीय चुनावको घोषण गरे ।
वीपीले परिस्थितिलाई अध्ययन गर्दै चुनावलाई स्वीकारे । चुनाव भयो । नेकाले बहुमत ल्यायो र वी.पी. प्रधानमँत्री भए । नेकाको सरकारलाई पतन गरउनको लागि ठूलो षडयन्त्र भइरहेको थियो । २०१७साल पौष १गते तरुणदलको उद्घाटन भाषण गर्दा गर्दै वीपी लगायतका नेताहरूलाई गिरफ्तार गरियो ।
पार्टीहरूमा प्रतिबन्ध लगाइयो । अन्तराष्ट्रको दवावलाई पनि महेन्द्रले सुनेन् । राजबन्दीलाई पत्रपत्रिका पढ्न पाउने छुट हुनुपर्ने, राजबन्दी सँगै बस्न पाउने, खेल खेल्ने व्यवस्था, भेट्न आउनेले भेट गर्न पाउने पर्ने सुविधा, न्याय पाउनको लागि अदालत जान पाउने सुविधा केही नभएकोले वी.पीले यी सुविधाको लागि अनसन बसे ।
न्यायलयमा जान पाउने सुविधा भने सरकारले दिएन तर अरु माग राज्यले प्रदान गर्यो । यसरी सुन्दरी जल जेलमा आठ बर्ष बस्दा वीपी विमारी पर्नु भयो । उपचारको लागि वि.सं २०२५ साल कार्तिक महिनामा रिहा हुनु भयो ।
भारतमा उपचार गराएर पुन वीपी नेपाल आउनु भयो तर भारतमा उपचारले मात्र नहुने भए पछि वीपीले युरोप जाने राहदानी माग गर्नु भयो तर त्यो नेपाल सरकारले दिएन र भारतैबाट राहदानी मिलाएर युरोपमा गएर उपचार गराएर फर्कनु भयो । देशमा प्रजातन्त्र पुनर्वहाली गर्न सशस्त्र क्रान्तिको महसूस गरेर वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो तर क्रान्ति सफल हुन सकेन । वीपी भारतमा रहन पनि, इन्दिरा गान्धीको विस्तारवादी नीतिले गर्दा, कठीन भयो ।
देश नै नरहने हो कि भन्ने आशंकाले गर्दा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्कनु भयो । नेपाल फर्कने क्रममा वीपीलाई देशद्रोह र राजद्रोहका मुद्दा चलाइयो । पञ्चहरू कुर्ले, फाँसीको सजाएको माग गरियो । तर २०३४ सालम राजा वीरेन्द्रले उपचारको लागि अमेरिका जाने र सरकारी खर्चमा उपचार गराउने भन्दै रिहा गरियो । वीपीले उपचार गराएर भारत हुँदै नेपाल फर्कनु भयो ।
जेलमा रहँदा होस् तथा बाहिर जाँदा होस् वीपीको चिन्तन देशमा प्रजात र समाजवादको स्थापनाको लागि संघर्षरत रह्यो । सिडनीमा भएको समाजवादको सम्मेलनमा पनि वीपी सहभागी हुनुभयो र समाजवादकै लागि ओकालत गर्नु भयो । २०३६ सालमा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत वा बहुदल रोज्ने भनेर जनमत सङ्ग्रहको घोषण गरियो । जनमतसङ्ग्रहमा पनि नेपाली जनताको चाहना पुरा हुन पाएन । बाजी पञ्चहरुले नै मारे ।
बीपी कोइरालाले कुनै पनि राजनीतिक पार्टीको आफ्नै पहिचान हुनुपर्ने कुरामा जोड दिनु हुन्थ्यो जसको उदाहरणको रूपमा यसलाई लिन सकिन्छ ,नेपालमा राजनीतिक रूपले खुकुलो वातावरण भएको बेलामा एक दिन वामपन्थी नेता मनमोहन अधिकारी जो बीपीका नातेदार पनि पर्नुहुन्थ्यो उहाँले विराटनगरमा बीपी कोइरालालाई भन्नुभएछ — ‘म विराटनगरमा एउटा आमसभा गर्छु, तपाईँ त्यसको प्रमुख अतिथि बनिदिनुपर्यो।’ मनमोहनको कुरा सुनेर बीपीले भन्नुभएछ — ‘तपाईंलाई मानिस कम हुन्छन् कि भन्ने डर लागेको छ भने मेरो आमसभामा जत्तिकै मानिस म जुटाइदिन्छु । म नै आउनु पर्ने भए म पनि आउँछु र अघिल्लो लाइनमा कार्यक्रमभरि बस्छु । म तपाईको कार्यक्रमको प्रमुख अतिथि भएँ भने मेरो र तपाईको पहिचान नै समाप्त हुन्छ ।’
२०३८ वैशाखमा सुधारिएको संविधान अनुसार चुनाव हुने भयो । एवम् रीतले वी.पीको सारा जीवन संघर्षरत नै रह्यो । देश काल परिस्थिति बुझेर देशलाई प्रजातन्त्र र समाजवादमा लाने वीपीको जुन अठोठता थियो त्यो भने उनको जीवनकालमा पुरा हुन सकेन तर भाइ गिरिजा प्रसाद कोइरालको नेतृत्वमा नेपालमा गणतन्त्र नै वहाली भयो । यसको संरक्षण र सम्बद्र्धन गर्ने काम अव हाम्रो काँधमा आएको छ ।
“देशको बारेमा निर्णय लिनुपर्ने कुरामा दुबिधा भएमा मातृभूमिको एक मुठ्ठी माटो एउटा हातमा समात्नुस अर्को हात छातीमा राख्नुस,एकाग्र भएर सोच्नुस अनि मनमा जे आउँछ त्यही निर्णय गर्नु ” उहाँको यो शब्दमा मलाइ यो नै एक राष्ट्रियता र देश प्रतिको प्रेम हो लाग्छ ।
- वीपीको साहित्यिक यात्रा
विपीको साहित्यमा दिएको योगदानको व्याख्या गर्नु भन्दा पहिले उहाँको साहित्य प्रतिको तिनवटा चर्चित भनाई सम्झिन मन लाग्यो उहाँ भन्नू हुन्थ्यो ,”साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ” ,साहित्य सभ्यताको प्रतीक हो,”सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो” ।
वी.पीको जीवनलाई नियाल्ने हो भने राजनीति योगदानमात्र हेरेर पुग्दैन । उनको साहित्यिक योगदानको पनि अध्ययन हुनुपर्दछ । उनको, उनलाई नेपाली साहित्यि लेखनभन्दा पहिला उनमा अंग्रेजी र हिन्दी कथा उपन्यासको अध्ययनमा रुचि थियो । उनी हिन्दी साहित्यका साहित्यकारहरू शान्तिप्रिय द्विवेदी, रामकृष्ण दास, जयशङकर, मैथिलीशरण गुप्ता, सुमित्रानन्दन पन्त, मुन्सी प्रेमचन्द्रसँग साहित्य लेखन र अध्ययनको सिलसिलामा उनको सम्बन्ध बढ्दै गएको थियो ।

यिनले कृतिहरूको अध्ययन गर्ने मात्र हैन यसलाई व्यवहारमा उतार्ने वानी भएकोले, उनलाई हामीले कहिले फ्रायडवादीको रूपमा, कहिले छायावादी, कहिले यौनवादी, कहिले मनोविज्ञानवादी कहिले आदर्श वादी, कहिले रहस्यवादी, कहिले अध्यात्मवादी, कहिले नियतीवादी, आदि विविध वादीको रूपमा पाउँछौं । उनको लेखनको थालनी पनि हिन्दी भाषाबाट भयो । लेखनको थालनी १६ बर्षको कलिलो उमेरमै भएको थियो । ‘चन्द्रवदन’ नेपालीको उनको पहिलो कथा हो ।
‘कथा कुसुमा’, ‘श्वेत भैरुवी ’ ‘दोषी चश्मा’ वी.पीका कथा कृतिको रूपमा अध्ययन गर्न पाइन्छ भने फुटकर कथाहरू पनि विभिन्न पत्रिकामा पढ्न पाइन्छन् । ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, सुम्निमा, ‘मोदिआइन्’, ‘हिटलर र यहुदी’ र ‘बाबु आमा र छोरा’ वी.पीका उपन्यासहरू हुन् यी उपन्यास बाहेक वी.पी.ले आफ्नो कथा, जेलजर्नल, आत्मवृतान्त आदिका अमूल्य कृतिहरू हामीलाई छाडेर जानु भएको छ । उहाँ कवि, निबन्धकार कथाकार, उपन्यासकारमात्र नभै उहाँ एक दार्श्निक पनि हो ।
बीपीले आफ्नो आत्मवृत्तान्तको शुरू–शुरूकै पानामा एउटा शिक्षकसम्बन्धी प्रसङ्गको उल्लेख गर्नुभएको छ, जुन शिक्षकले केही समय विराटनगरमा पिताजीले खोल्नुभएको विद्यालयमा अध्यापन गराएका थिए, जसलाई पिताजीले कलकत्ताबाट लिएर आउनुभएको थियो । त्यो शिक्षकका दुईवटा छोरामध्ये एउटा छोरालाई ब्रिटिस सरकारद्वारा मृत्युदण्ड दिइएको र अर्कोलाई कालापानी पठाइएको कुरा पत्रपत्रिकाको माध्यमबाट थाहा पाएपछि पिताजी उक्त शिक्षकलाई भेट्नका निम्ति आफूलाई पनि सँगै लिएर जानुभएको थियो । उक्त शिक्षकलाई भेटेर यस्तो दुःखको कुरा सुनेको भनेर पिताजीले दुःख व्यक्त गर्नुभयो । तर ती शिक्षकले पिताजीसँग भनेछन्–मलाई त केही दुःख लागेको छैन, एउटा छोरो त काम लाग्यो देशको निम्ति…., तिनीहरूले देशका लागि त्योभन्दा ठूलो के काम गर्न सक्दथे ? उक्त शिक्षकको यो भनाइले आफूलाई जीवनपर्यन्त प्रभाव पारेको उल्लेख बीपीले आफ्नो जीवनको अन्तिम–अन्तिम क्षणमा गर्नुभएको छ । बीपीले जुन शिक्षकको उल्लेख गर्नुभएको छ ती शिक्षक देशप्रेम सम्बन्धी यस्तो शिक्षाबाट शिक्षित थिए जुन शिक्षाको माध्यमबाट मानिस देश र जनताका लागि आफूबाट पनि केही न केही योगदान होस् भन्ने भावनाले उद्वेलित हुन्छ।
- वि.पि. र समाजवाद
वि.पि.को दृष्टिकोणमा समाजवादका विभिन्न पहलुहरु छन् । समाजवादका व्यवहारिक पक्ष र सैद्धान्तिक पक्ष, राजनीतिक स्वतन्त्रता, समान आर्थिक अवसर, समानता र वितरण एवम् उत्पादन प्रणाली आदि । समाजवादसँग यी तमाम विषयहरु अन्योन्याश्रित छन् ।वि.पि. भन्छन् व्यवहारिक समाजवाद भोको मानिसका लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद रहन्छ । उनका अनुसार समाजवादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ भन्ने कुरामा वि.पि. विश्वास राख्थे । वि.पि.को प्रजातान्त्रिक समाजवाद भन्नु नै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग हो । उनका अनुसार समाजवाद नै भविष्यको आयाम हो । वि.पि. कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्तावाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे । वि.पि. को समाजवादका मौलिक र आधारभूत मान्यताहरु मूलरुपमा निम्न थिए
१) अर्थव्यवस्था नै समाजको विकासको कारण हो ।
२) समाजमा उपलव्ध सबै उत्पादनका साधन भूमि, पूँजी, प्रबिधि र श्रमलाई समाजले नियन्त्रण गर्छ । (निर्वाचित जनप्रतिनिधिहरुले राज्यको पूँजी नियन्त्रण गर्न र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्णय पनि गर्न सक्छ ।)
वि.पि.का अनुसार समाजवाद आदर्श वा राजनीतिक नारा मात्र होइन । यसमा उत्पादन र उत्पादन प्रणाली सँगसँगै जानुु पर्छ । यी दुबै समाजवादका अंग हुन् । समानतालाई संकुचित नबनाइकन समाजवादलाई आर्थिक र राजनीतिक समानताको रुपमा बुझनु जरुरी हुन्छ ।वि.पि.को विचारमा समानता भन्नु अवसर र साधनको वितरण हो । उनी भन्छन् आर्थिक समानता, समाजको उत्पादन क्षमतासँग सम्बन्धित हुन्छ । थोरै परिमाणमा उत्पादन गर्ने र आवश्यकता भन्दा थोरै परिमाणमा वितरण गर्ने कार्यबाट आर्थिक न्याय हुनै सक्तैन । समान र न्यायपूर्ण (पुग्ने गरी) तरिकाले वितरण गर्न सकिने परिमाणमा वस्तु उत्पादन गर्न सकियो भनेमात्र मानिसले न्याय भएको महसुस गर्न सक्छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवाद आवश्यक मानिएको र त्यसरी आवश्यकता मानिनु पछाडिका कारणहरु निम्न हुन् भनिएको छ
– जमिनको स्वामित्वका आधारमा परम्परागत शक्ति भएका र शक्तिको संरचनासँग सम्बन्ध भएका सामन्तवादी अवस्थाको अन्त्य गर्न ।
– विर्ता, जमिन्दारी जस्ता संस्थागत भएका शोषणयुक्त उत्पादन सम्बन्ध भएको भूमि व्यवस्थाको अन्त्य गर्ने विषयमा प्राथमिकता दिन,
– छुवाछुत र सामाजिक विभेद विरुद्ध लडन,
– राजनीतिमा उदार एवम् प्रजातान्त्रिक मूल्य स्थापित गर्न र
– स्वास्थ्य र शिक्षामा लगानी गर्न,
– आर्थिक आधुनिकीकरण गर्न,
र अन्त्यमा, वि.पि. को विचारमा समाजवाद भन्नाले समाजका आवश्यकता पूरा गर्न सकिनेगरी पर्याप्त उत्पादन गर्नु हो । आर्थिक उत्पादन र उत्पादकत्व नै वास्तवमा समाजवाद हो । समाजवादको लक्ष्य प्राप्तिका निम्ति वितरण गर्न आवश्यक परिमाण पुग्नेगरी पर्याप्तवस्तु उत्पादनमा बृद्धि गर्न सक्नु पर्दछ । त्यसो गर्न सकियो भनेमात्र मागअनुसार बस्तुको वितरण गर्न सकिने कुराको सुनिश्चितता हुन सक्छ ।समाजबाद बारे वि.पि.भन्छन् व्यवहारिक समाजबाद भोको मानिसको लागि एकमुठी चिउरा हो । सैद्धान्तिक रुपमा भन्दा साम्यबादमा प्रजातन्त्र थपिदियो भने समाजबाद हुन्छ । समाजबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद रहन्छ । बि.पि.का बिचारमा समाजबादको लक्ष्य समानता हो । जनतालाई समाजवादले मात्र राजनीतिक स्वतन्त्रता र समान आर्थिक अवसर दिन सक्छ ।वि.पि.को प्रजातान्त्रिक समाजबाद भन्नुनै राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको योग वा समष्टि हो । उनका अनुसार समाजबादनै भविष्यको आयाम हो । बि.पि.कम्युनिष्टहरुको राय विपरित मान्छे रोटीले मात्र बाँच्दैन र पूँजीवादीको राय विपरित अनियन्त्रित उपभोक्ताबाद अनैतिक हुन्छ भन्ने मान्यता राख्थे ।
वीपीको शब्दमा तत्कालिन माटो र समय सुहाउदो समाजवाद :
“सबै नेपालीको एउटा सानो घर
गरि खाने मिल्ने खेतबारी
एउटा दुहुने गाई
छोराछोरीले स्कुल पढ्न पाउन
स्वास्थ्य उपचार गर्न पाउन
यही हो नेपालको सन्दर्भमा समाजवाद ”
अर्थतन्त्र र आर्थिक विकास सम्बन्धी चिन्तन
वि.पि.को अर्थतन्त्र र आर्थिक दृष्टिकोण स्पष्ट थियो । वि.पि.को दृष्टिकोणमा आर्थिक प्रजातन्त्रको लागि राजनीतिक प्रजातन्त्र आवश्यक छ । तसर्थ अर्थतन्त्र र आर्थिक विकासम निम्न कुरा आवश्यक पर्ने कुरा वताएका छन् :
(क) पूर्णरुपले विकसित प्रजातान्त्रिक समाज र समाजबादको सिद्धान्त,
(ख) अर्थतन्त्रको आर्थिक रुपान्तरणको ढाँचा आफ्नै स्थानीय आधार हुनु पर्छ, (
ग) समानतामा आधारित सहभागितात्मक उत्पादन प्रक्रियामा राज्यको अभिभावकीय भूमिका,
(घ) राज्यले नागरिकलाई उनीहरुको क्षमताले सकेसम्मको परिश्रम गरी उत्पादन गर्न प्रेरित गर्नु पर्छ ।
अन्त्यमा
वीपी यो देशका बरिष्ठ साहित्यकार मात्र नभएर ,मूद्र्धन्य राजनेता पनि हुनुहुन्छ । त्यसोहुँदा यो देशले वी.पी.बाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल गर्यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो ।यो संविधानमा पनि राजाको शक्ति बलियो नै रहेको थियो र दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै ( वी.पी.का भाई गिरिजा प्रसादको नेतृत्वमा) सञ्चालन गरेर देशमा प्रजातन्त्रमात्र नभै गणतन्त्र वहाली गराएको छ ।साथै बिपि कै छत्रछायामा हुर्केका अर्थात बिपि लाई आदर्श मानेर हिडेका सुशील कोइराकको नेतृत्वमा पहिलो चोटि संविधान सभा बाट २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयाँ संविधान प्राप्त भयो जुन २०१४ साल देखि बिपी को सपना थियो र बिपीले बोकेको समाजवादको आवाजले संविधान मार्फत केही हदसम्म न्याय पाएको छ।यसरी नेपाली राजनीतिमा उहाँले भोगेका उतार चढाव र त्यागको र नेपाली साहित्यको भण्डारमा वीपीका यी गहन, सारगर्भित कृतिहरूले कोशे ढुङ्गा थपेर गएको छ ।
उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज नेपाली कांग्रेसका नेताहरू तथा अनुआइहरूले वीपीले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र वी.पी. प्रतिको सच्चा आदर भाव सम्मान हुनेछ ।
(वीपी कोइरालाको आत्मबृतान्त र विभिन्न पत्रपत्रिका तथा पुस्तकमा समावेश गरिएका
कुराहरु लाई एकमुस्ट गर्दा)
मनमोहन भट्ट (कानूनको विद्यार्थी )
नेपाल ल क्याम्पस
