


बैतडी -प्रकाश भट्ट आज ११४औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ । नारि दिवसको अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिकामा पनि विशेष कार्यक्रम आयोजना गरि दिवस मनाइने दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्किले बताइन।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव भइन् । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग गर्दै महिलाहरूले विशाल जुलुस निकालेका थिए ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गरेपछि सन् १९११ यो दिवस मनाउन थालिएको हो ।




