


काठमाडौं -घट्दो जनसंख्याको कारण चिन्तित चीनमा गत वर्ष विवाहको संख्या २० प्रतिशतले घटेको छ।
चीनको नागरिक मामिला मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष विवाह दर्ता संख्या ६१ लाखमा झरेको छ। सो संख्या चीनले सन् १९८६ मा विवाह दर्ताको सार्वजनिक अभिलेख राख्न थालेपछिकै सबभन्दा कम रहेको ब्लुमबर्गले जनाएको छ। यो सन् २०१३ मा पुगेको उच्चतम संख्याको आधा भन्दा पनि कम हो।
कोभिड महामारी अन्त्य भएपछि सन् २०२३ मा वृद्धि भएर विवाहको संख्या बढेर ७७ लाख नजिक पुगे पनि सन् २०२४ मा फेरि घटेको छ।

चीन सरकारले घट्दो जनसंख्यालाई सम्बोधन गर्न युवालाई विवाह गर्न र विवाहित दम्पतीलाई बच्चा जन्माउन प्रोत्साहन गरिरहे पनि सफल हुन सकेको छैन।
चिनियाँले सन् २०२४ लाई ‘विधुवा वर्ष’ भनेर अशुभ मान्ने भएकाले विवाह दर्ता केही घटेको हुन सक्छ। तर पनि समग्रमा चीनमा पछिल्ला वर्ष विवाह र जन्मदर दुवै घटिरहेको छ।
चीनको जनसंख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष घटेको थियो। चिनियाँ ज्योतिषशास्त्रमा ड्रेगन वर्ष बच्चा जन्माउनका लागि शुभ मानिने भएकाले गत वर्ष अघिल्लो वर्षको तुलनामा पाँच लाख २० हजार बढी बच्चा जन्मिए पनि जनसंख्या भने घटेको थियो। सन् २०२४ मा चीनको कुल जनसंख्या १३ लाख ९० हजारभन्दा धेरैले घटेर एक अर्ब ४० करोड आठ लाखमा झरेको थियो।
ड्रेगन वर्ष बच्चा जन्माउनका शुभ मानिने भएकाले जन्म संख्या बढेर ९५ लाख ४० हजार जति पुगेको थियो। तर पनि सो संख्या सन् १९४९ मा कम्युनिष्ट शासन स्थापना भएपछि दोस्रो सबभन्दा कम थियो। चीनमा सबभन्दा कम बच्चा सन् २०२३ मा जन्मेका थिए।
चीनले यो शताब्दीको अन्त्यसम्ममा कुनै पनि देशले इतिहासमा भोगेको सबभन्दा ठूलो जनसंख्या गिरावट भोग्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ।




