


तपेन्द्र भट्ट: काठमाडौं- करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ ।
३१ हजार ३ सय ६४ पशु रोगबाट प्रभावित भएकामा १ हजार ५० पशु मरेका छन् । झापाको मेचीनगरको केही गाउँमा देखिएको लम्पी अहिले तीव्र रूपमा फैलिएको छ । सुदूरपश्चिमबाहेक सबै प्रदेशमा रोग फैलिइसकेको छ,’ विभागका एक अधिकारीले भने, ‘तत्काल नियन्त्रणमा नआए फेरि विगतकै जस्तो भयावह हुने अवस्था देखिन्छ ।’

लम्पी रोग भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यो रोग गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । लामखुट्टे, झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट यो रोग सर्ने विभागले जनाएको छ । संक्रमित पशु एक स्थानबाट अर्को स्थानबाट अन्यत्र लैजाँदा संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत तत्काल सर्छ । यही कारण पनि संक्रमण बढेको जानकार बताउँछन् ।
तीव्र रूपमा फैलिने लम्पी देखिनु भनेको गम्भीर हुनुपर्छ । तत्काल नियन्त्रणमा नआए यसले फेरि महामारीको रूप लिने सम्भावना हुन्छ,’ नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष मनोजकुमार शाहीले भने, ‘डेढ वर्षअघि तथ्यांकले एउटा पशुमा रोग संक्रमण भए ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखाएको छ । ३१ हजारभन्दा बढीमा संक्रमणले अर्बौं रुपैयाँको नोक्सान हुन्छ ।’
परिषद्ले गरेको अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुने देखिन्छ । सोही फर्मुलाअनुसार संक्रमित ३१ हजार ३ सय ६४ संक्रमित पशुबाट १ अर्ब ५४ करोड नोक्सान हुने परिषद्को अनुमान छ ।




