


बुटवल —सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी रवि लामिछाने र छविलाल जोशीसहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता भएको छ ।

रवि, छवि र लक्ष्मी पौडेलसहितलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको पूरक अभियोजन आइतबार दर्ता भएको हो । त्यस्तै यसअघि नै दर्ता भएका २८ जनामध्ये १७ जनालाई थप कसुर र थप बिगो माग गरिएको मुद्दा पनि दर्ता भएको छ ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले रवि, छविसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको बताए । ‘पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘तीमध्ये पुरक अभियोगमा रवि, छवि र लक्ष्मीसहित १४ जना नयाँ रहेको र बाँकी ८ जना सुरु प्रतिवादी मध्येकालाई थप कसुर र बिगो मागसहित १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको छ ।’जीबी राईसँग ५१ करोड १ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग गरिएको छ । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संचालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ ।




