


काठमाडौँ । प्रेस चौतारी नेपालले शुक्रबार राजावादी प्रदर्शनकारीद्वारा सञ्चारमाध्यम तथा पत्रकारहरूमाथि भएको आक्रमणको अनुगमन थालेको छ ।
शनिबार अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट दैनिक पत्रिका, हिमालयन टेलिभिजन र अनलाइनखबरको कार्यालय पुगेर घटनाबारे जानकारी लिएको हो ।
टोलीले आक्रमणका कारण सञ्चारगृहमा भएको क्षति अनुगमन गर्दै सम्बन्धित सञ्चारमाध्यमका प्रमुख तथा सञ्चारकर्मीहरूसँग छलफल गरेको छ ।

दोषीलाई कानुनी कठघरामा ल्याउन दबाब
अनुगमनपछि प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेले राजावादीहरूले सञ्चारमाध्यमलाई लक्षित गरी आक्रमण गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताए । उनले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन चौतारीले दबाब सिर्जना गर्ने बताए ।
“राज्यले संयमता अपनाएकाले थप क्षति हुनबाट जोगिएको छ, तर पत्रकार तथा नागरिकको सुरक्षाप्रति सरकार अझ गम्भीर हुनुपर्छ,” उनले भने ।
पत्रकारहरूमाथि त्रास फैलाउने प्रयास
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरूलाई स्थापित गर्न खोजिएको आरोप लगाए । उनले पत्रकारहरूलाई विचलित नभई आफ्नो पेसागत धर्म निर्वाह गर्न आग्रह गरे।




