


बैतडी:गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शङ्कास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ।
दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले बताए। संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उहाँको भनाइ छ। एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ।




