


तपेन्द्र भट्ट काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ।
भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको हो। दुई मुलुकका सरकार प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने तयारीमा छन्। प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन्।
ओलीको भ्रमणको तयारीका लागि विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौँ आएका छन्। उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन।
भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए ।




