



बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सिआईबीको अनुसन्धानबाट थाहा भएको छ । शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरेर १४० रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएका हुन् । सिआईबीले पुस ७ मा काठमाडौँको ताहाचल घर भएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेको थियो । सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताएफरक फरक सालमा किर्ते भएको निष्कर्षका आधारमा ब्युरोले छुट्टाछुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । डिएसपीहरू कुमार मैनाली, सुकदेव खनाल, रविनबावु रेग्मी र मदनजित महराले ललिता निवास मुद्दाको अनुसन्धान गरिरहेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पनि चारजना फरक वकिललाई सो मुद्दा अभियोजन गर्ने जिम्मेवारी दिएको छ । #रा




