आइफोन १४ सिरिजलाई बुधबार एप्पलको ‘फार आउट’ कार्यक्रममा विश्वव्यापी रुपमा सार्वजनिक गरियो । पछिल्लो केही महिनादेखि थुप्रै अफवाहपछि अन्ततः एप्पलको स्मार्टफोनको नयाँ सिरिज हामी सबैमाझ छ । यो सिरिजमा आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स समावेश छ । एकातिर आइफोन १४ र आइफोन १४ प्रो साना मोडल हुन् भने अर्कोतर्फ आइफोन १४ प्लस र आइफोन १४ प्रे म्याक्स ठूलो स्क्रिन मनपर्नेहरुलाई टार्गेट गर्छन् । प्रो सिरिजबाट नचलाई हटाइएको छ र यसको साटो एउटा पिल शेप होल–पञ्च कटआउटको प्रयोग गरिएको छ जसमा अब फ्रन्ट क्यामरा र फेस आइडी प्रविधि जडान गरिएको छ ।
यसका साथै नन–प्रो मोडल अघिल्लो वर्षको Apple A15 Bionic SoC मा काम गर्छ भने प्रो मोडलले लेटेस्ट Bionic A16 SoC पाएको छ । नयाँ स्मार्टफोन अमेरिकामा वाईफाई बिना ई–सिम एक्टिभेसनसहित आउँछ । पहिलो पटक अमेरिकामा आइफोन मोडलमा सिम ट्रे दिइएको छैन । स्मार्टफोन स्याटलाइट आपतकालीन कम्युनिकेशन टेक्नोलोजीसहित आउँछ जसको उपयोग स्याटलाइटमा आपतकालीन एसओएस पठाउनका लागि गरिन्छ । यो फिचर अमेरिका र क्यानडामा सुरु हुनेछ र यो लेटेस्ट रेन्जसहित दुई वर्षसम्म निःशुल्क प्रदान गरिनेछ ।
आइफोन १४ को मूल्य ७९९ डलर तोकिएको छ । यो स्मार्टफोन पाँच वटा रङमा उपलब्ध हुनेछ । यसै गरी आइफोन १४ प्लसको मूल्य ८९९ डलरबाट सुरु हुन्छ । यो पनि पाँचवटा रङमा उपलब्ध छ ।
आइफोन १४ र १४ प्लसका लागि प्रि अर्डर ९ सेप्टेम्बरदेखि सुरु हुनेछ जहाँ आइफोन १४ को बिक्रि १६ सेप्टेम्बरबाट सुरु हुनेछ, आइफोन १४ प्लसको बिक्रि ७ अक्टोबरदेखि सुरु हुनेछ ।
आइफोन १४ प्रोको मूल्य ९९९ डलरबाट सुरु हुन्छ र सबैभन्दा महँगो आइफोन १४ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ ।