


बैतडी, पौष २१
नेकपा(एमाले) बैतडीको आठौँ जिल्ला अधिवेशन यहि पौष २३ गते जिल्लाको मध्य भुभाग पाटनमा हुन गइरहेको छ । पाटन स्थीत खुल्ला मञ्चमा उद्घाटन सत्र आयोजना हुनेछ भने, सिटिइभिटि प्रांगणमा बन्दसत्र हुने छ ।
यस आठौँ अधिवेशनमा जिल्लाका १०ओटै स्थानियतहबाट गरि ५सय ९ जना प्रतिनिधिले मतदान गर्नेछन् । अहिले जिल्ला कमिटि अध्यक्षमा २ जनाको चर्चा चलेको छ ।
वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाललाई सर्वसम्मत अध्यक्ष चयन गर्ने चर्चा चलेका बेला पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष समेत रहेका नेता गोरख बहादुर चन्दले पार्टीको जिल्ला अध्यक्षमा आफ्नो दावी प्रस्तुत गर्नुभएको छ ।

चन्द पक्ष अहिले चुनावका लागि तयार भएको सचीवका दावेदार सन्तोश प्रकाश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी टिम सहित चुनावमा जान्छौँ, अध्यक्ष र सचीवको उमेदवारी टुंगिएको छ । अन्य पदहरुमा आजै साँझसम्म उमेदवारी पक्का हुनेछ । हामी संस्थापन पक्ष वा ओली पक्षको आधिकारीक टिम हौँ ।’
चन्द समुहले आफ्नो उमेदवारी घोषणा गर्दै प्रचारप्रसार सुरु गरेपनि पाल समुह भने, सर्वसम्मत हुनेमै ढुक्क देखिएको छ । पाल लाई नै जिल्ला अध्यक्ष बनाउन तत्पर देखिएका संघीय सांसद तथा पार्टी प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीका स्वकीय सचीव लोकेन्द्र भण्डारीले भन्नुभयो,‘अहिले जे जस्तो चर्चा चलेपनि अन्ततः वर्तमान अध्यक्ष सुरेन्द्र पाल कै अध्यक्षतामा सर्वसम्मत टिम चयन हुने सम्भावना छ । अर्को पक्षमा अहिले प्रतिनिधि नै नभएका व्यक्तिहरु प्रचार गरिरहेका हुन् । सहमतीको निकै बलियो सम्भावना छ । अहिले एमाले बैतडीमा कुनै गुट छैन्न । गुटको कुरा गर्नु जरुरी पनि छैन् । एमाले बैतडी एकजुट छ ।’
जिल्ला अध्यक्षमा दोहोरिने चर्चामा रहेका सुरेन्द्र पालले जिल्लाका नेता कार्यकर्ताहरुले आफुलाई नै सर्वसम्मत अध्यक्ष बनाउन लविङ गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेता कार्यकर्ताहरुको भावना बुझ्दा मलाई नै सर्वसम्मत जिल्ला अध्यक्षमा अघि सार्ने खालको देखिन्छ । त्यसै अनुसार हुन्छ होला । कसैले नमानेमा चुनाव हुन्छ होला, चुनाव भइहालेमा पनि लड्नै पर्यो ।’
यता जिल्ला अध्यक्षका अर्का दावेदार गोरख बहादुर चन्दले भने वर्तमान अध्यक्ष पालले लामो समय पार्टीको नेतृत्व गरेपनि कार्यकर्ताको भावना नबुझी स्वइच्छाचारी बनेका कारण पार्टीलाई गति प्रदान गर्न आफ्नो दावेदारी रहेको बताउनुभएको छ । चन्दले भन्नुभयो,‘हाम्रो पार्टीमा सबै नेता कार्यकर्ताको इच्छा र भावना बुझ्ने नेतृत्व चाहिन्छ । तर वर्तमान नेतृत्वमा त्यो गुण देखिएको छैन् । पद मात्रै लिएर काम नगर्ने प्रवृत्ति हावी भएकाले मैले नेतृत्वका लागि दावी गरेको हुँ ।’
अध्यक्ष पाल यसअघि जिल्ला कमिटि सचीव हुदैँ जिल्ला अध्यक्ष चयन भएका ब्यक्ति हुन् भने, चन्द राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, पार्टी जिल्ला कमिटि सचिवालय सदस्य रहदैँ राजनितिमा सक्रिय छन् ।




