



काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए




