



काठमाडौं -समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवास बाहिर तस्विर खिचिरहेकी फोटो पत्रकार बर्षा शाहलाई हातपात गर्दै पक्राउ गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल प्रेस युनियनले जनाएको छ। राष्ट्रपतिले १८ करोडको सवारी साधन चढ्न लागेको विरोधमा सर्वसाधारणले एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको तस्विर खिच्दै गर्दा प्रहरीले शाहलाई हातपात गर्दै नियन्त्रणमा लिएको हो।लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने सोचबाट सरकार अघि बढिरहँदा पत्रकार शाह पक्राउ परेको युनियनले आरोप लगाएको छ। तस्बिर खिचेकै कारण फोटो पत्रकार गिरफ्तार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार रहेको युनियनको ठहर छ।
‘शितल निवास बाहिर समाचार संकलनका क्रममा रहेकी फोटो पत्रकार शाहलाई पक्राउ गर्ने लगायतका प्रेस स्वतन्त्रता विरोधी सबै किसिमका क्रियाकलाप बन्द गर्न चेतावनी दिदै युनियन सरकारलाई स्वतन्त्र प्रेसको भावनाको सम्मान तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन खवरदारी गर्दछ,’ महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




