


बैतडी -बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना माविमा मुटुरोग सर्बेक्षण शिविरको आयोजना गरिने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महराजगञ्ज काठमाण्डौको आयोजनामा यही फागुन १५ गते ज्ञानेश्वर नमुना माविमा मुटुरोग सर्बेक्षण शिविर सञ्चालन हुन गइरहेको हो ।

मुटुरोग विशेषज्ञहरुबाट ४ वर्षदेखि १८ वर्ष उमेर समुहका स्कुले बालबालिकाहरुको मुटुको जाँच, मुटुको भिडियो एक्सरे परीक्षण गरिने र बालबालिकाहरुमा मुटुरोग भए नभएको यकिन गरिने बताइएको छ । बालबालिकामा विषेशगरी जन्मजात मुटुको रोग भएमा सुरुवाती तवरमा पत्ता लगाई उपचार गरी निको हुने चिकित्सकहरु बताउछन् ।
सरकारको निति अनुसार विद्यालय छनौट गरी मुटुरोग सर्बेक्षण शिविरको आयोजना हुन गइरहेकाले यस कार्यक्रममा ज्ञानेश्वर मावि पनि छनौटमा परेको ज्ञानेश्वर नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । कक्षा १ देखि ९ सम्मका सबै बालबालिकाको मुटु सम्बन्धी परीक्षण हुने भएकाले बालबालिकाको आमाले पनि अनिवार्य उपस्थित हुनुपर्ने अध्यक्ष बिष्टले बताए ।
मुटुरोग विशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क जाँच गरी मुटुरोग भएनभएको निरुपण गरिने बताइएको छ ।




