


बैतडी -सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले स्वास्थ कार्यालयले पाउने बजेट आफैंसँग राखेको छ।
मन्त्रालयले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले पठाएको करिब पौने करोड बजेट आफैंसँग राखेको हो। सामाजिक विकास मन्त्रालयले केन्द्रबाट सशर्त पाएको बजेट स्वास्थ्य कार्यालयहरूमा नपठाउँदा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम चलाउन स्वास्थ्य कार्यालयहरूलाई समस्या भएको छ।

मन्त्रालयले जिल्लामा पठाउनुपर्ने बजेट आफैंसँग राख्दा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्यूनीकरण सम्बन्धी कार्यक्रम चलाउन जिल्ला स्वास्थ्य कार्यालयहरूलाई समस्या भएको स्वास्थ्य अधिकारीले बताएका छन्।
सामाजिक विकास मन्त्रालयले जिल्लामा जानुपर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबाट आएको ७३ लाख बजेट जिल्ला स्वास्थ्य कार्यालयमा पठाउनुको सट्टा अहिलेसम्म आफैंसँग राखेको राख्नु नियम संगत नभएको अधिकारीहरूको तर्क छ।
आर्थिक वर्षको सुरूमै मन्त्रालयको वार्षिक कार्यक्रम स्वीकृत गराएर जिल्लामा जाने बजेट उतै खर्च गर्न पठाउनुपर्नेमा मन्त्रालयले संघीय सरकारबाट आएको सशर्त अनुदान आफैंसँग राखेर खर्च गर्न चाहेको गुनासो गरिएको छ। सामाजिक विकास मन्त्रालयका अधिकारीहरूले जिल्ला जाने बजेट आफैंले खर्छ गर्ने रहर गर्दा प्रदेशका ९ वटा स्वास्थ कार्यालयहरूलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्न समस्या भएको बताइएको छ।




