


बैतडी -प्रकाश भट्ट,बैतडीको पाटन बजारमा जहिले बिधुत अनियमित हुने गरेको ब्यबसायिहरुले गुनासो गरेका छन। बिधुत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ ।
नेपाल लोडसेडिङमुक्त भनिए पनि बैतडीको पाटन बजारका ब्यवसायि र नगरपालिका भित्रका नागरिकले त्यसको अनुभूति गर्न पाएका छैनन् । जसले गर्दा पुरानै नियति खेप्न बाध्य छन् । पाटनमा २०० किलोवाट क्षमताको सुर्नयागाड साना जलविद्युत आयोजना हुदाहुदै पनि बिधुत अनियमित हुने गरेको छ । ‘बत्ति कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन,’ पाटनका ब्यवसायि डम्बर सिंह महराले भने, ‘विद्युत हुनु र नहुनुमा फरक छैन ।’ झ्याप्पझ्याप्प बत्ति जाँदा दैनिक काम प्रभावित भइरहेको छ।

‘बत्ति एकछिन आएर एकैछिनमा जान्छ,’ पाटनका अर्का व्यवसायी दिपक सिंह महराले भने, ‘बत्ति आउने जाने हुँदा काम नै हुँदैन ।’ लोडसेडिङको तालिका नभए पनि अनियमित हुँदा समस्या भएको उनको भनाइ छ । पटकपटक आउने जाने हुँदा विद्युतीय सामग्रीमा समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ । विद्युत नहुँदा धेरै काम प्रभावित हुने भन्दै उनले प्राधिकरणको ध्यान जानुपर्ने बताए।
विद्युत प्राधिकरणले भने अन्य कुनै कारण नभइ केही प्राविधिक कारणले विद्युत आउनेजाने भएको बताएको छ । पाटनमा २०० किलोवाट क्षमताको साना जलविद्युत आयोजनाको बिधुत उत्पादन गर्ने मेसिनहरु पनि बिग्रिदै गएको र उत्पादन कम आपुर्ति बढि भएकोले समस्या आएको बताए।
बैतडीको पाटन बजार संगै जोडिएको नेपाल राष्ट्रिय प्रसारणको लाइनको फिडर मेलौली नगरपालिका,पाटन नगरपालिका,सुर्नया गाउँपालिका,सिगाश गाउँपालिकामा जोडिएको हुनाले लामो दुरि भएकोले रुखका हाँगाबिँगा लाग्ने लगायतका समस्या आउने गरेकोले बिधुत अनियमित भएको सुर्नयागाड साना जलविद्युत आयोजनाका प्राबिधिक हरि सिहं भण्डारीले बताए।




