


काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेका ४ वटा विषयगत समितिको सभापतिका लागि मुख्य ४ राजनीतिक दलले मिलीजुली भागबण्डा गरेका छन् । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष दलको भूमिकामा रहेका राजनीतिक दलहरूले राष्ट्रिय सभाका समिति भने मिलीजुली भाग लगाएका हुन ।

राष्ट्रिय सभामा रहेको चार विषयगत समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मिलीजुली सभापति भागबण्डा गरेका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेका दुई समितिमा सभापति चयनका लागि निर्वाचन हुँदैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेस सांसद कमला पन्तको मात्र उम्मेदवारी परेको छ ।
उनीहरूको उम्मेदवारीको प्रस्तावक भने फरक फरक दलबाट रहेका छन् । एमाले सांसद शेर्पाको उम्मेदवारी प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपी बहादुर आछामी रहेका छन् भने समर्थकमा कांग्रेस सांसद दुर्गा गुरुङ र एमाले सांसद इन्दिरादेवि गौतम रहेका छन् । यता सभापतिको लागि उम्मेदवारी दिएकी कांग्रेस सांसद पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट रहेका छन् भने समर्थकमा एमाले सांसद शारदादेवी भट्ट रहेकी छिन् ।




