


बैतडी -नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छन्। नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमका संसदीय दलका नेता घनश्याम चौधरीलाई अध्यक्ष श्रेष्ठले लिखित निर्देशन दिएकी हुन्।

नागरिक उन्मुक्ति पार्टी, केन्द्रीय कमिटीको टीकापुरमा बसेको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिन लिखित निर्देशन दिइएको छ। निर्देशनमा भनिएको छ, नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको २०८०÷१२÷१४ गते पार्टीको कार्यालय, टीकापुर कैलालीमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिन निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु। अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ।
अध्यक्ष श्रेष्ठले शुक्रवार लिखित पत्र पठाउदै नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन। उनको पत्रमा फिर्ता नभए पार्टीको विधान अनुसार कारबाही गरिनेसमेत उल्लेख गरिएको छ।




