


बैतडी -बैतडीको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६३ बर्षीय कृष्णसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका छन् । कोदालोले प्रहार गरि श्रीमतीको हत्या गरेका धामीलाई पुर्पक्षका कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केशीले जानकारी दिए ।

गएको चैत ८ गते बिहान कोदालोले हिर्काएर धामीले आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान सकाएर धामीलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरेको थियो । जिल्ला अदालतले उनलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी निरीक्षक केशीले बताए ।
श्रीमतीको हत्या गरेका धामीले उनकै घरमा डेरा गरेर बसेका डिलाशैनी गाउँपालिकाका कर्मचारी सुबास कलौनी र देवराज भट्टमाथि पनि आक्रमण गरेका थिए ।
धामीको आक्रमणबाट घाइते भएका कलौनी कोहलपुर मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भट्टको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ ।




