


बैतडी -मानव बेचबिखनविरूद्ध काम गर्दै आएको भारतको एक संस्थाले पाँच जना नेपाली किशोरीको उद्धार गरेको छ।
दिल्लीस्थित ‘के. आई. एन. भारत’ ले उद्धार गरेर उनीहरूलाई नेपाल ल्याएको हो। संस्थाले आइतबार जिल्ला प्रशासन कार्यालय, रूपन्देहीमार्फत ती किशोरीहरू प्रहरीको जिम्मा लगाएको छ।

उद्धार गरिएकामा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई जना, धनुषाका दुई जना र पर्साकी एक जना छन्। उनीहरू १५ देखि १७ वर्ष उमेरका छन्।
संस्थाका प्रतिनिधिका अनुसार ती किशोरीहरू विभिन्न प्रलोभनमा पारेर भारतको बिहार पुर्याई ‘गलत काम’ मा लगाइएका थिए।
उद्धार गरिएका किशोरीहरू रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिम्मा लिएका थिए।
अर्यालका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुई किशोरी गत फागुन २ गते राति लुम्बिनीको कक्रहवा नाकाबाट भारत पसेका थिए।




