


धनगढी -नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले निर्देशन नमान्ने नेतालाई कारबाही गर्न थालेकी छन्।
पार्टी अध्यक्षले गरेको निर्णय नटेर्ने नेता एवं सांसदलाई अध्यक्ष श्रेष्ठले सुरुमै कारबाही गर्ने बताइसकेकी थिइन्। पार्टी अध्यक्षले सांसदलाई कारबाहीका लागि पठाएको पत्रअनुसार सभामुखले प्रक्रिया अघि बढाएपछि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराएका छन्।
नागरिक उन्मुक्तिकी समानुपातिक सांसद इन्दिरा गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि दुई दलका नेताहरूले आज (मंगलबार) बिहान संयुक्त रुपमा भेटेरै ध्यानाकर्षण गराएका हुन्। प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकाले लिखित रुपमा ध्यानाकर्षण गराइएको नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताए।

उनले नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कुनै पनि सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको बताए। नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवार दिएको पत्र समेत प्रदेश सभा सचिवालय अध्यक्ष श्रेष्ठले पठाएकी छन्। तर घनश्यामले भने ७ जना सांसदले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफै कायम रहेको दाबी गरेका छन्।
नागरिक उन्मुक्तिसँगै सभामुखलाई भेटेका कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएको बताए। यसअघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई हटाउँदै अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई जिम्मेवारी दिएकी छन्। आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेको जानकारी गराएकी थिइन्।
चौधरीले चैत २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गरेकी छन्। घनश्याम चौधरीले पार्टीको निर्देशनको पालना नगरेकाले उनको ठाउँमा कैलाश चौधरीलाई राखिएको उल्लेख छ। कांग्रेस नेतृत्वको सरकारमा घनश्याम आर्थिक मामिला मन्त्री थिए भने कैलाशलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीबाट हटाएका थिए।
रञ्जिताले संसदीय दलको विधान पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षमा रहेको सार्वजनिक वक्तव्यमा उल्लेख छ। सभामुखलाई पत्राचार गरिएको पत्रमा पनि दलको विधान तयार नभएको हुँदा दलको केन्द्रीय समितिको बैठकले कैलाश चौधरीलाई दलको नेता चयन गरिएको जनाइएको छ।




