


काठमाडौँ —सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिएपनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो
नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरेका छन् । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् ।सुदूरपश्चिम प्रदेशमा वैकल्पिक गठबन्धनबाट सरकार बनाउने प्रयास भएको एक नेताले बताए ।
‘सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस ठूलो दल हो । नेकपा एस र नागरिक उन्मुक्तिले साथ दिएको अवस्थामा केन्द्रकोभन्दा फरक गठबन्धनको सरकार बन्ने अवस्था छ,’ ती नेताले भने, ‘हामीले नेकपा एसकै नेतृत्वमा सरकार गठन र आगामी सहकार्यका लागि बाटो खुला गरेका मात्रै हौँ ।’ ती नेताका अनुसार छलफल सकारात्मक ढंगले अघि बढेको छ ।




