


बैतडी -सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट कार्यक्रम चालू आर्थिक वर्ष २०८०/०८१ को भन्दा १० प्रतिशत बढीले आउने अनुमान गरिएको छ ।प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि २९ अर्ब २६ करोडको बजेट सिलिङ ल्याएको थियो ।त्यसको झन्डै १० प्रतिशतले वृद्धि हुने गरी बजेट सिलिङ आर्थिक मामिला मन्त्रालयमा पठाएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।आयोगका प्रवक्ता वीरबहादुर धामीका अनुसार १० प्रतिशत अर्थात् २ अर्ब ९२ करोडले वृद्धि भई करिब ३२ अर्ब १८ करोडको हाराहारीमा बजेट आउने अनुमान गरिएको छ ।
सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बजेट सिलिङ पठाइएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारको जम्मा बजेटको ४३.३३ प्रतिशत अर्थात् १२ अर्ब ६८ करोड बढीको बजेट रहेको थियो । जसको १० प्रतिशत वृद्धि अर्थात् आगामी आवको लागि करिब १४ अर्बको सिलिङ बन्ने बताइएको छ ।

हालसम्म प्रदेशको आन्तरिक आयको आधारमा मात्रै ९ अर्ब १४ करोड ८४ लाख बराबरको सिलिङ आएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहन बहादुर कुँवरले बताए ।
सङ्घको सशर्त अनुदान थपिएपछि करिब १४ अर्ब पुग्ने अनुमान भौतिक पूर्वाधार मन्त्रालयको हो । चालू आवको लागि सशर्त अनुदानबापत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ३ अर्ब बजेट आएको थियो ।
यहाँ ७ मन्त्रालय, २ वटा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, मुख्यान्याधिवक्ताको कार्यालयलाई बजेटको सिलिङ पठाइएको हो ।




