


बैतडी -सुदूरपश्चिममा प्रोत्साहन भत्ताको नाममा कर्मचारीले एक करोड २० लाख रुपैयाँ पचाएका छन्।प्रदेश सरकार मातहतका कर्मचारीले मापदण्ड विपरीत एक करोड २० लाख ९३ हजार रुपैयाँ पचाएका हुन्। जुन सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्वन्धि मापदण्ड २०७७ को दफा ६ विपरीत हो। यस्तो रकम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा वितरण गरेको हो।

सो मापदण्डमा मंहगी भत्ता, स्थानीय भत्ता, पोशाक खर्च, चाडपर्व खर्चबाहेक अन्य भत्ता तथा अतिरिक्त काम गरेवाफतको भुक्तानी नदिने उल्लेख छ। तर प्रदेश सरकार मातहतका सबै कर्मचारीले मंहगी भत्ता, स्थानीय भत्ता, चाडपर्व खर्च, पोशाक खर्चका अतिरिक्त प्रोत्साहन भत्ताको रुपमा पारिश्रमिकमा मासिक एकमुष्ट दुई हजार थप गरेर एक करोड २० लाख ५३ हजार रुपैयाँ पचाउने काम गरेका हुन्।
प्रदेशको राजस्व संकलन क्षमता र अतिरिक्त कार्यबोझ क्षमताको आधारमा यस्तो खर्च गर्नुपर्नेमा मापदण्डकै खिल्ली उडाउने गरी अनावश्यक रुपमा रकम वितरण गरिएको छ। त्यस्तै पर्यटन काजमार्फत भएको भुक्तानीको समेत एकीन विवरण छैन्।
स्थायी रपमा पदपुर्ति भएका एक हजार ६ सय ६ कर्मचारीलाई नजिकैको अर्को दुई स्थानीय तहका दुई पर्यटकीय स्थलको भ्रमण गराएको समेत खुलेको छ। सो भ्रमणवाफत पुरै महिनाको तलब भुक्तानी गरिएको छ। खर्चको प्रमाण संलग्न गर्नुपर्ने सम्वन्धमा स्पष्ट व्यवस्था नहुँदा स्रोतको उद्देश्यअनुरुप उपयोग भएको सुनिश्चित समेत हुन सकेको छैन्। सार्वजनिक स्रोतको उद्देश्यअनुसार काम नभएको समेत पाइएको छ।




