


अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिनुभएको छ ।

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।
ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो ।
छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फर्किसक्नुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ ।




